संयुक्त राष्ट्रसंघको महासभामा नेपालका बहालवाला प्रधानमन्त्री सहितको पहिलो नेपाली प्रतिनिधिमण्डल
वि.सं. २०१७ साल असोज ०७ गतेका दिन संयुक्त राष्ट्रसंघको पन्ध्रौं महासभामा सहभागी हुन प्रधानमन्त्री बीपी कोइराला सहितको नेपाली प्रतिनिधिमण्डल अमेरिका पुगेका थिए।
उक्त पन्ध्रौँ महासभामा प्रधानमन्त्री कोइराला सहित स्थायी प्रतिनिधि हृषीकेश शाह, सांसदहरू विश्वबन्धु थापा र अच्युतराज रेग्मी, विज्ञ यदुनाथ खनाल तथा परराष्ट्रका कर्मचारी नारायणप्रसाद (एनपी) अर्ज्याल सदस्य थिए। यदुनाथ खनाल विज्ञ र अर्ज्याल परराष्ट्र मन्त्रालयका कर्मचारी थिए।
नेपालले सन् १९४९ मा प्रधानमन्त्री मोहनशमशेरको पालामा संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिए पनि शीतयुद्ध र शक्ति राष्ट्रहरूको टकरावका कारण तत्कालै सदस्यता पाउन सकेन, जसले गर्दा सदस्यता पाउन आवेदन दिएको ६ वर्षपछि अर्थात् सन् १९५५ मा मात्र नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्न सफल भयो। यसअघि सन् १९४५ मा जुद्धशमशेर प्रधानमन्त्री रहँदा नेपाल यसको संस्थापक सदस्य हुनबाट चुकेको थियो। राणाकालीन समयमा नेपाललाई राष्ट्रसंघको सदस्य बनाउने यस ऐतिहासिक प्रक्रियामा क.ज. केशरशमशेर, मे.ज. विजयशमशेर र मेजर पद्मबहादुर खत्रीले विशेष र महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यससँगै नेपालले सन् १९५६ सेप्टेम्बरमा हृषीकेश शाहलाई संयुक्त राष्ट्रसंघका लागि पहिलो स्थायी प्रतिनिधि नियुक्त गरेको थियो र सोही वर्ष परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माको नेतृत्वमा नेपालले पहिलोपटक एघारौँ महासभामा मन्त्रीस्तरीय सहभागिता जनाएको थियो। उक्त नेपाली प्रतिनिधिमण्डलमा उपनेताको रूपमा अधिराजकुमार हिमालय वीरविक्रम शाह र सदस्यका रूपमा उनकी पत्नी प्रिन्सेप शाह सहभागी थिए। टोलीका अन्य सदस्यहरूमा तत्कालीन शिक्षा सचिव केशरबहादुर केसी, राजदरबारका सचिव सरदार हंसमान सिंह, परराष्ट्र मन्त्रालयका असिस्टेन्ट सेक्रेटरी दमनराज तुलाधर, र स्थायी प्रतिनिधि हृषीकेश शाह स्वयं रहेका थिए।